काठमाडौं । आजदेखि हुने सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठकका लागि छलफलका एजेण्डाहरु तय गरेको छ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय समितिका छलफलका एजेण्डाहरु तय गरेको हो । बैठकले भ्रातृ संगठनहरुलाई समय थप्नेबारेमा छलफल गरी निर्णय निकाल्ने बताएको छ ।
काँग्रेसको केन्द्रीय समितिको बैठक सोमबारदेखि शुरु हुँदैछ । केन्द्रीय समितिको बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । त्यस्तै बैठकमा पार्टीका विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउने बारेमा पनि छलफल हुनेछ ।
प्रदेश र केन्द्रको बजेटका बारेमा पनि छलफल हुने बताउँदै उहाँले केही भ्रातृ संगठनले अधिवेशन सकिसकेको र केहीले काम गर्न बाँकी रहेको र त्यसमा कति समय दिन सकिन्छ भन्नेबारेमा छलफल हुने बताउनु भयो । संस्थाको आवश्यकताको आधारमा समय दिने बारेमा छलफल हुने उहाँले बताउनु भयो । साथै क्रियाशील सदस्यहरुको स्थितिबारेमा पनि छलफल हुनेछ ।
प्रवक्ता महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टी भन्दामाथि हुने भन्दै पुनः राजनीतिमा सक्रिय हुने कुरा राम्रो नरहेको बताउनु भयो । आफूहरुको पार्टीले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने उहाँले दाबी गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया