देशको उच्च पदमा रहीसकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले रोकेको छैनः प्रमुख सचेतक पाण्डे

291 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले देशको सबैभन्दामाथिको पदमा रहीसकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताउनुभएको छ । 

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । शनिवार जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा पुनः सक्रिय हुने घोषणा गर्नुभयो । 

समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा हुन नसकेकाले आफूले राजनीतिमा पुनः अग्रसर हुनुपर्ने देखेको र त्यही लक्ष्य पूरा गर्न नेकपा एमालेको सदस्यता नविकरण गरेको घोषणा गर्नुभएको थियो । सोही बारेमा सञ्चारकर्मीको प्रश्नमा प्रमुख सचेतक पाण्डेले सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दामाथि रहीसक्नुभएको व्यक्ति भएपनि आफ्नो चाहनालाई नकार्न नसकिने बताउनु भयो । 

संविधानले राजनीति गर्न हुँदैन भनेर नरोकेको जिकिर गर्नुभयो । उहाँले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुनासाथ कम्युनिष्टहरुको बीचमा वाम एकता भइहाल्ने भन्ने कुरामा आफू विश्वस्त नरहेको बताउनु भयो ।