राजनीतिमा थकाई भन्ने शब्द हुँदैन, सुखी जनता र समृद्ध नेपालको दायित्व पूरा गर्न राजनीतिमा फर्किएकी छुः विद्यादेवी भण्डारी

323 Shares

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकाले त्यसका लागि आफू अग्रसर भएको बताउनुभएको छ।

शनिबार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने आफूलाई लागेको र यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर रहेको बताउनु भयो । 

फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको बताउनु भयो । अब आफू नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको बताउनु भयो । यसमा आफूले गर्व महशुस गरेको जिकिर गर्नुभयो । आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको र देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको बताउनु भयो । राजनीतिमा थकाइ भन्ने शब्दावली नरहने उहाँकाे भनाइ थियाे ।