कतारद्वारा आफ्नो हवाई क्षेत्र अस्थायीरुपमा बन्द

317 Shares

काठमाडौं । इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला कतारले आफ्नो सम्पूर्ण हवाई क्षेत्र बन्द गरेको छ। 

कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नागरिक, विदेशी बासिन्दा तथा पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो कदम चालेको जनाएको छ।

कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिएको रिपोर्ट रोयटर्स र एएफपी जस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले प्रसारण गरेका छन् । स्थानीय स्रोतहरूले रातभर विभिन्न स्थानमा विस्फोटको आवाज र आकस्मिक सायरन सुनिएको बताए ।

यसैबीच अमेरिकी सञ्चार माध्यमहरूले इरानले कतारस्थित अमेरिकी सैन्य अड्डा ‘अल उदीद एयर बेस’मा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्। सो बेस अमेरिकाको मध्यपूर्वमा रहेको सबैभन्दा ठूलो सैन्य अड्डा हो, जहाँ हजारौं अमेरिकी सैनिक तैनाथ छन्। 

यसअघि नै अमेरिकी रक्षा अधिकारीहरूले इरानबाट सम्भावित आक्रमणको जोखिमको चेतावनी दिएका थिए। गत शनिबार इरानका आणविक केन्द्रहरूमा अमेरिकी हवाई आक्रमणपछि क्षेत्रीय तनाव थप बढेको थियो।एजेन्सी