रास्वपाका सांसदहरूले सदनमा निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि काँग्रेसको नियमापत्ती

276 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद् बैठकमा निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि नेपाली काँग्रेसले नियमापत्ती जनाएको छ। 

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति जनाउनुभएको हो। उहाँले संसदमा मर्यादित पोशाकमा आउने व्यवस्था गरिएको स्मरण गराउँदै रास्वपाका सांसदहरूले लगाएको स्कार्फ मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न गर्नुभयो । उहाँले भोलिका दिनहरूमा कोही हाफ पाइन्ट तथा कोही जथाभाबी ड्रेसमा आए के गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले यस प्रकारका व्यवहार गर्ने सांसदहरूलाई सभामुखले चेतावनी दिनुपर्ने र संसद बैठकबाटै निष्कासन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराउनु भयो ।  

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिनुभएको आरोप लगाउँदै राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन् । उनीहरूले गत जेठ १३ देखि संसद अवरोध गर्दै आएका हुन् । मङ्गलबारको प्रतिनिधि सभा बैठकमा पनि रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि बैठक स्थगित गर्नुभएको छ ।