पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश, धवललाई तीन लाख धरौटी

288 Shares

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। 

साे अदालतका न्यायाधीश ऋषि राजभण्डारीको इजलासले निषेधाज्ञाको निवेदनमा सुनुवाइ गर्दै सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले छलफल गर्न दुवै पक्षलाई असार ५ गते उपस्थित हुन भनेको छ । 

विद्युतीय कारोबार (साइबर क्राइम) मुद्दामा जारी भएको पक्राउ पुर्जी रोक्न माग गर्दै पत्रकार पाठक उच्च अदालत पुगेका थिए । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटल खरिद गरेको भन्ने सामग्री युट्युब च्यानलमार्फत् प्रसारण गरेपछि पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

धवल शमशेरलाई तीन लाख धरौटी
यसैबीच जिल्ला अदालत काठमाडौंले राप्रपाका महामन्त्री धवलशमशेर जबरालाई धरौटीमा छाड्न आदेश दिएको छ । 

न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले सोमबार उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 

राजावादीहरूले गत चैत १५ गते तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले महामन्त्री राणासहितलाई पक्राउ गरी मुद्दा चलाएको थियो । 

यसअघि उनी हाजिरी जमानीमा रिहा भए पनि अदालतमा उपस्थित भएका थिएनन् । राणा सोमबार जिल्ला अदालतमा हाजिर भएका थिए । उनीसँगै हाजिरी जमानीमा रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने सम्पर्कविहीन छन् ।