काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नैतिकताको पाठ सिकाउन मिल्छ भन्दै प्रश्न गर्नुभएको छ।
आइतबारको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले ५ वटा मुद्दा भोगेर कारागारमा रहेका रवि लामिछाने नै रास्वपाको सभापति भएको निर्वाचन आयोगको अभिलेखमा उल्लेख भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले अरूसँग नैतिकता खोज्ने रास्वपाका सांसदहरूले आफैँभित्रबाट नैतिकताको उदाहरण प्रश्तुत गर्न आग्रह गर्नुभयो ।
रास्वपाको संसदीय दलको नेतासमेत परिवर्तन भएको कुरा नबाहिरिएको बताउँदै रास्वपाको संसदीय दलको नेतामा अहिले पनि निलम्वित सांसद लामिछाने नै रहेको जिकिर गर्नुभयो । उहाँले निलम्बित व्यक्तिलाई संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकता सिकाउनु जायज नहुने जिकिर गर्नुभयो ।
भिजिट भिसा प्रकरणमा मुछिनुभएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा पनि रास्वपाका सांसद्हरुले नाराबाजी गरिरहेका छन् । यद्यपि, रास्वपाका विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद् अगाडी बढाउनुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया