भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैनः गृहमन्त्री लेखक (भिडियाेसहित)

321 Shares

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गर्नुभएको छ। 

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो दाबी गर्नुभएको हो । उहाँले  आफूविरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगले राजनीतिकरुपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाउनु भयो । आफूलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका विषयमा समेत कुनै सत्यता नरहेको जिकिर गर्दै खेद प्रकट गर्नुभयो । 

मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताउनु भयो । उहाँले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गर्नुभयो । 

सभाको बैठकमा रास्वपा र राप्रपाको विरोध र नाराबाजीकै बीचमा मन्त्री लेखकले आफ्नो धारणा राखिरहनुभएको छ । माओवादी संसदको गतिरोध अन्त्य गर्न तयार भएपनि रास्वपा र राप्रपा अझै सहमत छैनन् । 

उनीहरुले भिजिट भिसा प्रकरणको छानबिनको लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेका छन् । दुई दलको विरोधका बीच सभामुखले सभालाई अगाडि बढाउनुभएको छ । 

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला