काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पनासहित मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभएको हो । उहाँले बाली तथा वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन र बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्न आर्थिक वर्ष २०७३/७४ देखि नै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा रहेको बताउनु भयो ।
कृषि क्षेत्रलाई विज्ञानसँग जोडेर आधुनिक, प्रविधिमैत्री एवं समयसापेक्ष बनाउनका लागि विभिन्न सफ्टवेरयमार्फत कार्य भइरहेको जानकारी दिँदै मन्त्री अधिकारीले किसानले प्राप्त गर्नुपर्ने सेवा प्रणालीलाई प्रभावकारी र पारदर्शी एवं एकद्वार प्रणालीमार्फत कार्यान्वयनका लागि डिजिटल सर्भिस सिष्टममार्फत सेवा प्रवाह भइरहेको बताउनु भयो । उहाँले रासायनिक मलको उपलब्धताका लागि सरल र सहज ढंगबाट जानकारी लिन किसान कल सेन्टर सञ्चालनमा रहेको स्पष्ट पार्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया