काठमाडौं । १५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डीमा छात्रातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा बिहीबार दोस्रो दिनको खेल सकिँदा सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो । समूह ‘ए’ बाट बागमती ६ अंकसहित विजेता र सुदूरपश्चिम प्रदेश चार अंक जोड्दै उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ बाट भने लुम्बिनी र कर्णालीले सेमिफाइनलमा स्थान बनाए । लुम्बिनीले चार अंक र कर्णालीले दुई अंक बटुल्दै शीर्ष दुई स्थानमा रहेका हुन् । शुक्रबार नै सेमिफाइनल र फाइनलका लागि प्रतिष्पर्धा हुनेछन् । छात्रमा भने लिगचरणका खेल पूरा भएका छैनन् ।
एथलेटिक्समा बने कुल ६ वटा कीर्तिमान
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा बिहीवार चार कीर्तिमानसहित कुल ६ वटा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् ।
तीन दिने खेलकुदमा एथलेटिक्सतर्फ कुल २६ स्वर्णका लागि प्रतिष्पर्धा भइरहेको छ। त्यसमा बिहीबार २७ वर्ष पुरानो कीर्तिमान सुधारसहित चार नयाँ कीर्तिमान बने । दुई दिनभित्र १८ स्वर्ण पदकको टुङ्गो लाग्दा ६ वटा नयाँ जुनियर (१८ वर्षभन्दा मुनि) राष्ट्रिय कीर्तिमान बनेका हुन् । अब अन्तिम दिन तथा शुक्रबार आठ स्वर्णको टुङ्गो लाग्नेछ । बिहीबार छात्र ज्याभ्लिन थ्रो, छात्रा आठ सय मिटर दौड र छात्र छात्राको चार गुणा चार सय मिटर रिलेमा कीर्तिमान बने । यी चार खेलाडीले कीर्तिमानबापत १० हजार र स्वर्ण पदकको पाँच हजार गरी कुल १५ हजार रुपैयाँ पाउनेछन् ।
यसअघि बुधबार वागमतीका प्रविण रानामगरले छात्र सय मिटर दौड र सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा चार सय मिटर दौडमा कीर्तिमान बनाएका थिए । दोस्रो दिन छात्र ज्याभ्लिन थ्रोमा झन्डै तीन दशक नजिकको कीर्तिमानमा सुधार भएको हो । लुम्बिनीका राहुल थारुले ज्याभ्लिन थ्रोमा २७ वर्षअघिको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान रचेका हुन् । राहुलले ५७.४० मिटर पर थ्रो गरे । यससँगै उनले २०५५ सालमा धीरेन्द्रजंग शाहको नाममा रहेको ५५.५० मिटरको कीर्तिमानलाई पछि पारेका हुन् । यसमा कर्णालीका सुशान्त नेपालीले रजत र सुदूरपश्चिमका लोकेश एडीले कांस्य पदक जिते ।
फेसबुकबाट तपाईको प्रतिक्रिया