अनुदान र कानूनी सुधारमार्फत काठमा आत्मनिर्भरता खोज्दैछौँः मन्त्री ठकुरी

349 Shares

काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वदेशी काठको सट्टा विदेशी काठ फर्निचरका रूपमा आयात हुने समस्यालाई समाधान गर्न सरकारले नीतिगत सुधार गर्न थालेको बताउनुभएको छ । 

बिहीवार राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा  बोल्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । उहाँले स्वदेशी काठको उपयोगलाई प्रोत्साहन गर्न अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा समेत आवश्यक व्यवस्था गरिएको बताउनु भयो । उहाँले वनभित्र ढलेका तथा सुकेका रुखहरुको उपयोग गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक अनुदान समेत व्यवस्था गरिने दाबी गर्नुभयो । मन्त्री ठकुरीले विगतमा कमजोर कानूनी संरचनाका कारण वन व्यवस्थापनमा कठिनाइ आएको उल्लेख गर्दै वनसम्बन्धी कानूनहरुमा आवश्यक संशोधनको काम भइरहेको बताउनु भयो ।

सरकारले स्वदेशी काठको उपयोग बढाएर आयातमा निर्भरता घटाउने नीति अवलम्वन गरिरहेको मन्त्री ठकुरीको भनाइ छ ।