तत्काल वाम एकता हुने कुरामा विश्वास छैनः पूर्वराष्ट्रपति भण्डारी

280 Shares

काठमाडाैं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा तत्काल वाम एकता हुने कुरामा विश्वास नरहेको बताउनुभएको छ। 

मङ्गलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालमा वाम एकता गरे पनि अहिलेसम्म टिक्न नसकेको बताउँदै उहाँले पार्टी–पार्टीहरूको बीचमा विश्वासको ठूलो सङ्कट देखिएको जिकिर गर्नुभयो । 

उहाँले मुलुकमा जुनसुकै पार्टीहरूको बीचमा पनि विश्वासको सङ्कट देखिरहेको बताउनु भयो । देशमा भएका ठूला, जिम्मेवार र नयाँ उदय भएका दलहरू राष्ट्रिय एजेन्डामा छलफल गरेर एकता साथ अगाडि बढे राष्ट्रलाई राम्रो हुने उहाँकाे भनाइ थियाे ।

उहाँले आफूले कुनै व्यक्तिगत आकांक्षा नराखेको बताउँदै कुनै गुटगत राजनीतिसमेत नगरेको स्पष्ट पार्नुभयो ।