स्कटल्याण्ड । मंगलबार राति स्कटल्याण्डको डण्डीमा खेलिएको विश्वकप क्रिकेट लिग २ को पछिल्लो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ।
खेलमा नेपालका लागि डेब्यू गरेका नन्दन यादवले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले नेदरल्याण्ड्सलाई सहजै पराजित गरेको हो । दायाँ हाते तीब्र गतिका बलर नन्दनले स्टार स्पिनर सन्दीप लामिछानेसँगै समान तीन विकेट लिएपछि नेपालको जीत सहज भएको थियो ।
२ सय ३७ रनको विजयी लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेदरल्याण्ड्सको टीम फोर्टहिलको मैदानमा ४९.२ ओभरमा २ सय २० रनमै अलआउट भएको हो । यो जीतसँगै नेपालले स्कटल्याण्डको आफ्नो भ्रमणको सुखद अन्त्यसमेत गरेको छ।
नेपालले लिग २ को यो शृंखलामा खेलेका ४ खेलमध्ये ३ खेलमा जीत हासिल गर्दै यो भ्रमणलाई अविष्मरणीय बनाएको छ । हुन त यसअघि सन् २०२३ मा पनि नेपालले यूएई भ्रमणका क्रममा खेलका ४ खेलमध्ये तीन खेलमा जीत हासिल गरेको थियो ।
नेपाल लिग २ अन्तर्गत आफ्ना १६ खेलबाट १२ अंक जोड्दै टेबलको सातौं स्थानमा छ भने नेदरल्यान्ड्स २३ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ । आठ राष्ट्र सहभागी लिग २ का शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया