काम नलाग्ने दर्जनौँ कानूनहरु खारेज गर्न चाहन्छौंः महामन्त्री थापा

307 Shares

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काम नलाग्ने दर्जनौँ कानूनहरू खारेज गर्न आवश्यक रहेको बताउनुभएको छ। 

काँग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलबार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’  विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस र एमालेसँगै भएको बेलामा रोकिएर बसेका ९० को दशकमा गरिएका आर्थिक सुधारका काम कामहरूलाई अगाडी बढाउनुपर्ने बताउनु भयो । 

आर्थिक सुधारका कामहरूका विषयमा केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेकोसमेत जानकारी दिनुभयो । महामन्त्री थापाले कानुनमा सुधार गर्ने कुराहरू अगाडी बढाएको बताउँदै दोस्रो चरणको काम केही दिनमा शुरु गर्ने जिकिर गर्नुभयो । उहाँले काम नलाग्ने दर्जनौँ नियम र कार्यविधिलाई खारेज गरी नयाँ कुराहरू थपेर संरचनालाई ठिक ठाउँमा लानुपर्नेमा जोड दिनुभयो । 

उहाँले काँग्रेस र एमाले मिलेर सरकार चलाउँदै गर्दा त्यसको लाभ आम नागरिकले पाउनुपर्ने बताउँदै तब मात्रै यसको अर्थ हुने जिकिर गर्नुभयो ।