काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले पुँजीगत खर्च गर्ने क्षमता प्रदेश र स्थानीय तहमा भएको बताउनुभएको छ।
सोमबार नेपाली काँग्रेस नीति तथा योजना विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै सांसद निधीले संघीय सरकारको तुलनामा प्रदेश र स्थानीय तहका सरकारसँग पुँजीगत खर्च गर्ने क्षमता भएको बताउनुभएको हो । उहाँले पुँजीगत खर्च गर्ने क्षमता भएका प्रदेश र स्थानीय सरकारलाई दिइँदै आएको अनुदान रोक्न र घटाउन नहुने बताउनु भयो ।
टोल र वडादेखि संघसम्मका विकास आफैँ गर्छु भन्नेतर्फ नलागी प्रदेश सरकारहरुलाई अधिकार सम्पन्न बनाउनेतर्फ संघीय सरकार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । संघीयतापछि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउने कुरामा राजनीतिक अधिकार दिन बाँकी रहेको भन्दै उहाँले बजेट बनाउँदा नेपालको अर्थ व्यवस्था के मा आधारित छ भनेर स्पष्ट उल्लेख गरिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले हरेक मन्त्रालयका योजनालाई प्राथमिकता दिन्छौं भनेर नीति तथा कार्यक्रममा भनिरहनु भन्दा जुन विषयमा आधारित बजेट बन्छ सोहीअनुरुप अगाडि बढ्नुपर्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया