राष्ट्रिय सभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक पारित

288 Shares

काठमाडौँ । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । जसमा सांसदहरुले छलफल गरी प्रश्न गरेका थिए । 

मन्त्री दाहालले छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै विधेयकलाई आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न बाटो खोल्ने बताउनु भयो । कोशी र नारायणी नदीबाट भारतसम्मको पहुँच अभिवृद्धि गर्न र गंगा नदी हुँदै कोलकतासम्मको पहुँच विस्तार गर्नसके समुन्द्रसम्म पुग्न सकिने बताउनु भयो । अध्ययन मात्रै गर्ने भएकाले आन्तरिक र वाह्यरुपमा पहुँच अभिवृद्धि गर्न धेरै बजेट माग नगरिएको बताउनु भयो । 

मन्त्री दाहालले जवाफ दिइसकेपछि पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रश्ताव गर्नुभयो । जसलाई सभाका बहुमत सदस्यहरुले समर्थन गर्नुभयो । बहुमत सांसदहरुको समर्थनसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।