काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले मानव तस्करीको नयाँ काण्डका रुपमा देखापरेको भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसद आलेमगरले गृहमन्त्रीको नैतिकता र इमान्दारितामा शंका नभएपनि उहाँ मातहतको कार्यालयमा रहेका व्यक्तिहरुको छानविनमा सहयोग गर्नकै लागि भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिनुभएको हो । प्रतिनिधि सभामा प्रतिपक्षी दलहरुले संसदीय छानबिन समिति बनेमा गृहमन्त्रीको राजीनामा माग नगर्ने भन्ने कुरा सहमति नजिक पुगेपनि टुंगो नलागेको बताउँदै उहाँले यदि सहमति नभएमा गृहमन्त्रीले राजीनामा दिएर छानबिनलाई सहज बनाइदिनुपर्ने बताउनु भयो ।
गृहमन्त्री रमेश लेखक नै पदमा रहँदासम्म निश्पक्ष छानबिन हुन नसक्ने र कुनै न कुनै प्रकारले छानबिन प्रभावित हुने भएकाले त्यसको निराकरणका लागि पनि राजीनामा दिनुपर्नेमा सांसद आलेमगरले जोड दिनुभयो । उहाँले अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिहरुको छानबिनमा सहजताका लागि गृहमन्त्रीको राजीनामा माग गरिएको स्पष्ट पार्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया