काठमाडाैं । राष्ट्रिय सभाका सांसदहरूले देशमा खेतीयोग्य जमिन बाझिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकाे बैठकमा बोल्दै उनीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । समितिको बैठकमा नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद पौडेलले मुलुकमा खेतीयोग्य जमिन करिब ५९ लाख हेक्टर बाँझै रहेको बताउनु भयो । उहाँले विदेश पलायन भएका युवाहरूलाई प्रेरणा, अनुदान दिएर वा कर छुटको व्यवस्था गरेर बाँझो रहेको कृषियोग्य जमिनमा उत्पादन शुरु गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । बर्सेनि खर्बौँका कृषिजन्य सामग्रीहरू आयात गरिरहँदा युवाहरू विदेश गइरहेको र जमिन बाँझो भइरहेको उहाँकाे जिकिर थियो । सांसद पौडेलले युवाहरूको रोजाइमा कृषि नभएको र उनीहरूले स्वदेशमा बस्नै नचाहेको गुनासो गर्नुभयो ।
बैठकमा नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले नेपालको कृषि अनुसन्धान धराशायी बनेको बताउनु भयो । उहाँले कृषि अनुसन्धानलाई सबल बनाइ पूरा स्वदेशी बीउहरूको परीक्षण गर्नुपर्ने बताउँदै आफैँले एक पटक ५–६ कट्ठामा धान खेती गरेको र नेपालमा बीउ नपाएपछि भारतबाट ल्याएको बताउनु भयो । उहाँले भारतबाट ल्याएको उक्त बीउमा कुनै मल नहाली राम्रो उत्पादन भएको बताउँदै गर्ने आँट गरे अवश्य हुने जिकिर गर्नुभयो ।
समितिको बैठकमा राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले कृषि उत्पादनलाई बढाउन चनाखो भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनसँगै जलवायु परिवर्तनको असरको वित्त लिनसमेत गाह्रो रहेको बताउँदै चनाखो भएर अगाडी नबढे ठिक नहुने बताउनु भयो । व्यक्तिगत नभई पहिला मुलुकलाई मनमा राखेर अगाडी बढ्न सके कृषि क्षेत्रमा विकास गर्न सकिने उहाँकाे जिकिर छ ।
समिति बैठकमा सांसदहरूले कृषि क्षेत्रलाई अगाडी बढाउन सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । उनीहरूले कृषि क्षेत्रलाई विकास र विस्तार नगरी मुलुकलाई समृद्धिको दिशातर्फ लैजान नसकिनेसमेत जिकिर गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया