काठमाडौँ । संसदको गतिरोध अन्त्य गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल बिना निष्कर्ष टुंगिएको छ।
आइतबार संसदको अवरोध हटाउन सभामुखले नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गर्नुभएको हो । छलफलमा सत्ता र प्रतिपक्षहरुले आ–आफ्नै अडान दोहोर्याउँदा सहमति हुन सकेको छैन ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदलाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको प्रतिक्रिया दिनुभयो । उहाँले प्रतिपक्षीले सहयोग गरेको खण्डमा छलफल सकारात्मक ढंगले अगाडि बढ्ने बताउनु भयो । उहाँले प्रतिपक्षले असहयोग गरेपनि संसदको कारबाही अगाडि बढाउने जिकिर गर्नुभयो ।
नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले आजदेखि सहमतिको लागि सूचना टाँसेर बैठक स्थगित गर्ने पक्षमा आफूहरु नरहेको बताउनु भयो । उहाँले प्रतिपक्षीले अवरोध गरेपनि र नगरेपनि बैठकमा बजेटमाथिको छलफल शुरु हुने बताउनु भयो ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककमाथि छानबिन हुनुपर्ने प्रतिपक्षीको अडानका कारण संसद अवरोध हुँदै आएको छ । निरन्तरको अवराेधका कारण आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलसमेत प्रभावित भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया