खेलाडीहरू सम्पूर्ण नेपालीहरूलाई गौरव दिने पात्र हुनुहुन्छः स्वास्थ्यमन्त्री

325 Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले खेलाडीहरू सम्पूर्ण नेपालीहरूलाई गौरव दिने पात्र भएको बताउनुभएको छ। 

काठमाडौंस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा आइतबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरूको स्वास्थ्य परीक्षणका क्रममा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले खेलाडीले गौरव गर्ने गरी सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्ने बताउनु भयो । अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा नेपाली खेलाडीहरूले खेलेको खेल नेपालीहरूले आँखा नझिम्काई हेर्ने गरेको जिकिर गर्नुभयो । 

मन्त्री पौडेलले खेलाडीहरूसँग कुनै नाता तथा निजी सम्बन्ध केही नभए पनि देशको सम्बन्ध रहेको बताउँदै नेपाली खेलाडीहरूले जित्दा आफ्नो इज्जत बढ्छ भन्ने लाग्ने बताउनु भयो । उहाँले विधिको शासन भएको देशमा मात्रै नागरिकहरू सम्मानित हुने बताउँदै युवालाई विधिवत् ढङ्गबाट प्रतिष्पर्धाको पद्धति अभ्यास गर्न खेलकुदले सिकाउने धारणा राख्नुभयो । उहाँले खेलकुदले समाज जोड्ने काम गर्ने बताउँदै राष्ट्रिय एकतासमेत प्रश्तुत गर्ने बताउनु भयो । 

खेल खेल्नको लागि खेलाडीहरूको स्वास्थ्य राम्रो हुनुपर्ने बताउँदै खेलाडीको स्वास्थ्य राम्रो बनाउन राज्यले सुविधा दिन जरुरी रहेको उहाँले बताउनु भयो ।