आइतबारको संसद बैठक सहजरुपमा सञ्चालन हुने सभामुख घिमिरेको संकेत

307 Shares

काठमाडौँ। सभामुख देवराज घिमिरेले आइतबारदेखि संसद सञ्चालन हुने संकेत गर्नुभएको छ । 

सभामुख घिमिरेले आइतबारको संसद बैठक सहजरुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको हो । सत्तापक्ष र प्रतिपक्षबीच संवाद बढेसँगै संसद गतिशील बनाउने सहमति नजिक पुगेको सभामुखको भनाइ छ । 

उहाँले सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरुबीचको छलफलपछि संसद अवरुद्ध अवस्थाको अन्त्य हुने बताउनु भयो । उहाँले प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको संकेत दिँदै यस्तो संवेदनशील अवस्थामा सत्ता र प्रतिपक्षले मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । व्यवस्थाकै विरुद्धमा जाने दलहरुले संसद गतिरोधका कारण खुच्चिङ भनिरहेको उल्लेख गर्दै उहाँले संसदीय दलभित्रका नेताहरुले यसबारे सोच्न जरुरी रहेको बताउनु भयो । 

प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुने बताइएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसाको बद्मासीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आवश्यक छानबिन हुनुपर्ने मागबाट पछि हट्न नखोजेपछि शीर्ष तहमा छलफल हुन लागेको हो ।