काठमाडाैं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आइतबारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अगाडि बढ्ने बताउनुभएको छ।
शुक्रबार नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी दिनहरूमा संसद् भवन आउने, सूचना टाँस गर्ने र फर्कने अवस्था नबन्ने बताउँदै प्रतिपक्षीले बैठक गरौँ भन्दा हुने र नगरौँ भन्दा नहुने अवस्थाको सिर्जना हुन नदिनेसमेत जिकिर गर्नुभयो ।
मुख्य सचेतक बर्तौलाले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काममा जोडिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कानूनहरू पारित गर्नुपर्ने कार्यभार रहेको जिकिर गर्नुभयो । साथै, उहाँले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल नभएको बताउँदै बजेटलाई पारित गर्नुपर्ने दिशामा जानुपर्ने जिम्मेवारी रहेकोसमेत जिकिर गर्नुभयो । उहाँले आगामी आइतबारदेखि प्रतिनिधि सभाको बैठक नियमित र सहज ढङ्गले सञ्चालन हुने दोहोर्याउनु भयो । उहाँले प्रतिपक्षीलाई पेलेर जाने कुरा वर्तमान सरकारको शब्दकोषमै नरहेको जिकिर गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया