जे-जे गर्ने हो गरौँ तर नागरिकता विधेयक चाँडो पास गरौँः गृहमन्त्री

337 Shares

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीसम्बन्धी विधेयक ड्राफ्ट भइसकेको बताउनुभएको छ । 

शुक्रबार सिंहदरबारकमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै विधेयक आवश्यक हुने बताउनु भयो । गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनाअनुसार राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको नागरिकता दिइने बताउनु भयो । 

विभिन्न मन्त्रालयहरुमा राय, परामर्शहरुका लागि पनि विधेयक गइसकेको र सरकारले चाँडै मन्त्रिपरिषद्को सहमतिका साथ सदनमा लैजाने बताउनु भयो । उहाँले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो टुंग्याउन आग्रह गर्नुभयो । नागरिकता विधेयक टुंगिएसँगै विभिन्न पीडामा रहेका नागरिकहरुको समस्या समाधान हुने उहाँले बताउनु भयो । 

गृहमन्त्री लेखकले अध्यागमनसम्बन्धी ऐनलाई संशोधन गरी नयाँ ऐन बनाउने गरी सरकार अघि बढिसकेको बताउँदै नेपाली आमाबाट जन्म भइ नेपालमा नै स्थायी बसोबास गरेको बाबुको ठेगाना नभएको वा बेपत्ता भएको अथवा सहयोग नगरेको मानिसलाई पनि जिल्लाबाटै नागरिकता दिने व्यवस्था गरिने बताउनु भयो ।