नेपाल एमेच्योर ओपनको उपाधि सद्भावलाई

304 Shares

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य रेकर्ड स्कोरमा ११ औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन् । 

नेपालकै राहुल विश्वकर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै सदभाव पहिलो पटक यो च्याम्पियनसिपको उपाधि जित्न सफल भएका हुन् । गोकर्ण गल्फ क्लवमा सद्भावले आज २ अण्डर ७० खेल्दै समग्रमा २० अण्डर १ सय ९६ को स्कोर खडा गरे । उनले ५४ होलको १८ अण्डरको कुल रेकर्ड समेत तोडे। सद्भाव यो प्रतियोगितामा दोहोरो स्वर्णको सफलता प्राप्त गर्न पनि सफल रहे। टिमतर्फ राहुलसँग मिलेर स्वर्ण जिते । उनले दोस्रो दिन १२ अण्डर ६० खेल्दै गोकर्णको कोर्स रेकर्ड पनि तोडेका थिए । 

नेपालका राहुल र भारतका सुमित कोटवालले समान १० अन्डर २ सय ६ को स्कोर बनाए । काउन्ट ब्याकमा राहुल दोस्रो र सुमित तेस्रो भए । राहुलले एक स्वर्ण र एक रजत हात पारे। राहुलले आज ४ अण्डर ६८ को उत्कृष्ट स्कोर निकाले। सुमितले इभन–पार ७२ खेले । 
महिलातर्फ भारतकी अनन्थी विवेकले समग्रमा इभन–पार २ सय १६ सहित उपाधि जितिन् । उनले भारतकी दिया क्रिस कुमारलाई १९ स्ट्रोकको फराकिलो अन्तरमा हराइन्। गत संस्करण तेस्रो भएकी अनन्थीले यो पटक उपाधि जितिन् । उनले ३ ओभर ७५ स्कोर गरिन् । दियाले समग्रमा १९ ओभर २ सय ३५ सहित दियाले दोस्रो स्थानमा चित बुझाइन् । उनले आज ८–ओभर ८० खेलिन् । नेपालकी तारा कार्की चित्रकार तेस्रो भइन्। उनले समग्रमा २ सय ५४ स्कोर गरिन्। आज ९१ स्कोर बनाएकी थिइन् । 

यु–१६ तर्फ भारतका भिभान उभयाकरले उपाधि जिते । समग्रमा १ अन्डर २ सय १५ स्कोर गरे। आज २ अन्डर ७० स्कोर गर्दा उनले भारतका प्रिन्स बैंस्लालाई ६ स्ट्रोकले हराए । भिभानले फ्रन्ट नाइन २ अण्डर ३४ र ब्याक नाइन इभन–पार ३६ मा सकाए । प्रिन्सले इभन–पार ७२ खेल्दै समग्रमा ५–ओभर २ सय २१ स्कोर गरे । नेपालका रूबेन थापाले समग्रमा १३–ओभर २ सय २९ सहित तेस्रो भए। उनले ४–ओभर ७६ मा सकाए । काउन्ट ब्याकमा रुबेनले भारतका अड्भय बाग्लालाइ पछि पारे । 

च्याम्पियन्सिपका विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य कमल बहादुर भट्टराई, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, नेपाल गल्फ संघका उपाध्यक्ष फुर्साङ लामा र नेपाल गल्फ संघका सदस्य रतन टण्डनले पुरस्कार वितरण गरे । तीन दिने ५४ होलको प्रतिष्पर्धामा नेपालसहित दक्षिण एशियाका बङ्गलादेश, भूटान, श्रीलंका र भारतका गरी कुल पाँच राष्ट्रका ५७ खेलाडीको सहभागीता रहेको थियो। यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ र्याङ्किङ (डब्लुएजीआर) द्वारा मान्यता प्राप्त हो। प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले र्याङ्किङ अंकसमेत प्राप्त गर्नेछन् ।