नेकपा एसको जिकिरः 'राजनीतिक गन्ध आएको छ, माधव नेपालले भ्रष्टाचार गरे भनेर कसैले पत्याउँदैन'

295 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक पूर्वाग्रहबाट प्रतिशोध साँधेर मुद्दा दर्ता गरेको भन्दै आपत्ति जनाएको छ। 

पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीका पदाधिकारीसहितका नेताहरुसँगको छलफलपछि बोल्दै पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले षड्यन्त्रमुलक ढंगबाट अध्यक्ष नेपालमाथि प्रतिशोध साँधिएको बताउनुभएको हो । उहाँले आफूहरुको पार्टी सिध्याउनका लागि पहिलादेखि नै प्रयास हुने गरेको उल्लेख गर्दै अहिले पार्टी अध्यक्षलाई षड्यन्त्रमुलक ढंगबाट मुद्दा दायर गरिएको बताउनु भयो । उहाँले षड्यन्त्रहरु पराजित गर्दै र प्रतिकार गर्दै अघि बढ्ने बताउनु भयो । 

पार्टी अध्यक्षमाथि मुद्दा दायर गर्नु पार्टीलाई कमजोर बनाउने उद्देश्यप्रेरित रहेको बताउँदै उहाँले अदालतबाट सफाई पाएर निस्किने विश्वास आफूहरुको रहेको बताउनु भयो । 

उहाँका अनुसार अध्यक्ष नेपालले सार्वजनिक पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गर्नुभएको छैन । आजसम्मको उहाँको व्यवहार, कार्यशैलीले विभिन्न ओहोदामा पुग्दा पसिन निष्कलंक छवि, स्वच्छ छवि लिएर उहाँ फर्किनुभएको उपाध्यक्ष ज्वालाको दाबी छ । 

उपाध्यक्ष ज्वालाले मन्त्रिपरिषद्का नीतिगत निर्णयहरुमा अख्तियारले छानविन गर्न पाउने बाटो खुलेको बताउनु भयो । अध्यक्ष नेपालमाथि योजनाबद्धरुपमा फसाउने उद्देश्यबाट चलाइएको बताउनु भयो । उहाँले माधव नेपालले भ्रष्टाचार गर्यो भन्दा कसैले पनि नपत्याउने दाबी गर्नुभयो । माधव नेपालको स्वच्छ छविबाट ईष्या गर्ने सत्तापक्षबाट षड्यन्त्रपूर्वक मुद्दा चलाएको बताउनु भयो ।