कर्मचारी संगठनले जेठ २५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने

297 Shares

काठमाडौं । संघीय निजामती सेवासम्बन्धी कतिपय प्रावधानहरुप्रति आपत्ति जनाउँदै कर्मचारीहरुले सिंहदरबार केन्द्रित धर्ना जारी राखेका छन् । 

नागरिक सेवामैत्री एवं कर्मचारीमैत्री ऐन जारी गर्नुपर्ने भन्दै नेपाल निजामती कर्मचारी संगठनको अगुवाईमा कर्मचारीहरुले बिहीबार पाँचौँ दिन पनि धर्ना कार्यक्रम जारी राखेका हुन् । कर्मचारीको वृत्ति विकास हुने खालको ऐन प्रश्ताव नगरिएको भन्दै कर्मचारीहरुले निरन्तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिँदै आएका छन् । 

नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष प्रभास शाहले जेठ २५ गतेदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेर देशभर आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले सिंहदरबारबाटै देश चलाइरहेको सरकारले सिंहदरबारभित्र राखेका आफ्ना मागहरु नसुनेको आरोप लगाउनु भयो । संघीय निजामती ऐन तत्काल जारी गर्नुपर्ने उहाँको माग छ । 

निजामती कर्मचारीको हक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै कर्मचारीका ट्रेड युनियनहरुले आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् ।