मुगु । देशको पश्चिम उत्तरका उच्च हिमाली क्षेत्रका गाउँ बस्ती अहिले रित्तो जस्तै देखिन्छ। हिउँ पग्लिएर खाली भएका नागी पाटनहरुमा यार्सागुम्बा टिप्न गाउँका सबै गएपछि गाउँ रित्तो भएको हो ।
गाउँमा अशक्त, सुत्केरी, बालबालिका, वृद्धवृद्धा मात्र भेटिन्छन् । यार्सागुम्बा अर्थोपार्जन र पारिवारिक अर्थचक्रको महत्वपूर्ण पक्ष हो । मुगुको मुगुम कर्मारोङ गाउँमा पुग्दा यस्तै दृश्य देखियो ।
पश्चिम उत्तरका हिमाली तथा उच्च पहाडी जिल्लाका स्थानीयहरु जेठको दोश्रो सातादेखि एक महिनासम्म उच्च हिमाली क्षेत्रमा किरा कोर्न जाने गर्दछन् । उच्च हिमाली क्षेत्रका पाटनहरुमा पाइने यार्सागुम्बा टिप्ने कामलाई स्थानीय भाषामा किरा कोर्ने भन्ने गरिन्छ । साना साना बालबालिकाहरुले पनि यसलाई यही ढंगले बुझ्ने गरेका छन् । सबै किरा कोर्न गएका कारण विद्यालय बन्द भएका छन् भने गाउँ रित्तो भएका छन् । त्यस क्षेत्रमा मुख्य आय आर्जनको स्रोत नै यार्सागुम्बाको बिक्री हो । सिजनमा सबै यार्सा टिप्न जान्छन् । लगभग एक महिनाको समय गाउँ नै सुनसान हुन्छ ।
मुगु कार्मारोङ गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई मांग्रीमा सामाजिक परिचालकको रुपमा काम गर्दै आउनुभएका ठिल्ले लामाले साना नानी भएका महिला, बालबालिका र वृद्धवृद्धा मात्रै गाउँमा रहेको बताउनु भयो । सानो बच्चा भएका स्वास्थ्यकर्मी नुर्बूछिरिङ लामा गाउँमा नै भेटिनुभयो । उहाँ भन्नुहुन्छ, ‘पुरुषहरु त सबै गए । अहिले गाउँमा सानो सानो बच्चाको आमाहरु होलान् । कर्मचारीहरु होलान् । गाउँका आधाजसो घरमा ताल्चा लागेको छ । परिवारै यार्सागुम्बाा टिप्न गएका छन् । आयआर्जनको स्रोत यार्सागुम्बा र ज्यालामजदुरी हो । ’
यार्सागुम्बा नेपालको हिमाली क्षेत्रमा पाइने ढुसीको एक प्रजाति हो । बहुमूल्य जडिबुटीको रुपमा प्रयोग हुँदै आएको यार्सागुम्बा निर्यातबाट ठूलो आम्दानी हुने गर्दछ । सिजनमा ९ वर्षभन्दा माथि ६० वर्ष उमेरसम्मका मानिसहरु यार्सा टिप्न जाने गर्दछन् । मुख्य आयआर्जनको स्रोत नै यार्सा भएकाले मुगुका अधिकांश गाउँहरु अहिले सुनसान प्राय छन् । मांग्री पनि सुनसान छ । गाउँका आधाआधी घरमा ताला लागेको छ । सानासाना बालबालिका र वृद्धवृद्धा मात्रै भेटिन्छन् । मांग्रीको छिमेकी गाउँ छायलाका स्थानीय पनि यार्सा टिप्न गएका छन् । गाउँमा महिला र साना बालबालिका मात्रै छन् । एकाध विद्यालय सञ्चालनमा छन् तर विद्यार्थी छैनन् । सञ्चालनमा रहेका विद्यालयमा पनि ९ वर्ष मुनिका बालबालिकाहरु मात्रै भेटिन्छन् ।
यस वर्ष जेठ १३ गतेदेखि यार्सागुम्बा टिप्न खुला गरिएको थियो । १२ गतेदेखि नै मुगु, हुम्ला, जुम्ला, डोल्पा लगायतका अधिकांश विद्यालय बन्द छन् भने गाउँहरु पनि सुनसान हुन थालेका छन् । एकाध सञ्चालनमा आएका विद्यालयमा पनि प्राथमिक तहका विद्यार्थी मात्रै आउने गरेको पाइन्छ ।
औषधिजन्य गुणयुक्त यार्सागुम्बा आपूर्ति गर्नेमा चीनपछि नेपाल दोस्रो मुलुक हो । यसको प्रमुख बजार चीन हो । यकिन तथ्यांक नभएपनि पूर्वीनेपालको अलैंची सरह नै पश्चिम नेपालको हिमाली क्षेत्रबाट यार्सागुम्बा निर्यात हुने गरेको पाइन्छ । नेपाल राष्ट्र बैंकले २०७२ मा गरेको अध्ययनले पनि हिमाली र उच्च पहाडी जिल्लाका बासिन्दाको सामाजिक र आर्थिक क्रियाकलाप अभिवृद्धिसँगै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान हुन यार्सागुम्बाले सहयोग गरेको उल्लेख छ ।
सो अध्ययनमा आर्थिक वर्ष २०७०/ २०७१ मा नेपालका ११ जिल्लामा ४ अर्ब ९२ करोडको यार्सागुम्बा संकलन गरिएको अनुमान गरिएको थियो । यार्सागुम्बा संकलनका लागि मुख्य केन्द्रका रुपमा रहेका दार्चुला, डोल्पा, जुम्ला, बझाङ्ग र मनाङमा अध्ययन केन्द्रित थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया