काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राज्यले कानूनको सही ढंगबाट कार्यान्वयन गर्न नसक्दा जातीय विभेद कायम रहेको बताउनुभएको छ।
राष्ट्रिय समता दिवस तथा छुवाछुत मुक्त राष्ट्र घोषणाको सन्दर्भमा नेपाली काँग्रेस दलित समुदाय समन्वय तथा सशक्तिकरण विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उपसभापति गुरुङले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको समय कुरा मात्र गर्ने समय नभएकोले अब व्यवहारमा नै परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
उपसभापति गुरुङले राजनीतिक अधिकार, आर्थिक अधिकार, सामाजिक अधिकार प्राप्त गर्ने कुरामा समानता हुनुपर्ने बताउँदै दलितको प्रतिनिधि चाहियो भन्ने बित्तिकै त्यहाँ विभेदले प्राथमिकता पाउने बताउनु भयो । उहाँले नकारात्मक मनोवृत्ति छाडेर सकारात्मक मनोवृत्तिलाई ग्रहण गर्न सकेमा मात्र विभेदको अन्त्य हुने दाबी गर्नुभयो ।
उहाँले अहिले पनि राजधानीलगायत देशका कतिपय भागमा दलित भनेर परिचय हुनेवित्तिकै सामान्य कोठा भाडामा बस्नसमेत समस्या रहेको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया