सबैलाई नागरिकता दिने भएपछि कागजपत्र र दण्ड जरिवानामा कडाइ गर्नुपर्छः मन्त्री राई

297 Shares

काठमाडाैं । रक्षामन्त्री मानवीर राईले नागरिकता सबैलाई दिने भइसकेपछि कागजपत्र र दण्ड जरिवानामा कडाइ गर्नुपर्ने बताउनुभएको छ। 

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रक्षामन्त्री राईले यस्तो बताउनुभएको हो । उहाँले भविष्यमा नागरिक सबैलाई दिने गरी अघि बढ्दा नेपालमा विभिन्न किसिमका गतिविधि हुनसक्ने भएकाले कागजपत्रमा कडा निगरानी गर्न जरुरी रहेको बताउनु भयो । 

जन्मदर्ता गर्ने कर्मचारीले फर्जी वितरण गरेको खण्डमा उसको बढुवादेखि जागिरमै समेत बन्देज गर्ने जस्ता प्रावधान राख्न सुझाव दिनुभयो । रक्षामन्त्री राईले अनलाइन प्रणालीमा जाँदै गर्दा झनै कडाईका साथ निगरानी गर्नुपर्ने बताउनु भयो । अनलाइन रेकर्डमा बस्नेले कागज सुरक्षित गरेर राखेन भने त्यसलाई पनि दण्ड हुनुपर्ने बताउनु भयो । नेपाली नागरिकता त्याग गरेर विदेशी नागरिकता लिने र नेपाल फर्किएर आइसकेपछि पुनः वंशजकै नागरिकता दिने कुरामा पनि सोच्न जरुरी रहेको बताउनु भयो । 

रक्षामन्त्री राईले आमा र बुबा दुवै जना नेपाली नै भएका नागरिकका सन्तानले मात्रै वंशजको नागरिकता पाउनुपर्ने बताउनु भयो । बुबा नेपाली र आमा विदेशी भए फरक खालको नागरिकता दिनु उचित हुने उहाँकाे भनाइ छ ।