यातायात व्यवसायीलाई भौतिकमन्त्रीको चेतावनीः 'सवारी नचलाउनु गलत हो, जिम्मेवार भएर अघि बढ्नुस्'

305 Shares

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताउनुभएको छ। 

सोमबार राति सरकार र यातायात व्यवसायीहरुबीच भएको सहमति अनुसार यातायात व्यवसायीहरुले यातायात सञ्चालन गर्नुपर्ने भएपनि हालसम्म सञ्चालन नभएको भन्दै यो गलत भएको बताउनुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै यातायात सञ्चालन हुन्छ भन्ने जस्ता तर्कहरु यातायात व्यवसायीहरुले गरिरहेकाले त्यो गलत भएको बताउनु भयो । 

सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुनेगरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै उनीहरुले आन्दोलन गर्दै आएका छन् । 

उहाँले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता केन्द्र सरकारले नगरेको स्पष्ट पार्दै केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुर्याएकाले बाँकी कुराहरु विधेयकमार्फत सम्बोधन हुने बताउनु भयो । जिम्मेवार भएर सहमति अनुसार यातायात सञ्चालन गर्न आग्रह गर्नुभयो । 

मन्त्री दाहालले यातायात व्यवसायीहरुले बन्द गरिरहेको यातायातहरु सञ्चालन गर्नुपर्ने बताउनु भयो । केही सवारी तथा सार्वजनिक यातायातसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबाट राइड सेयरिङलाई पनि राज्यको दायराभित्र ल्याउने बताउनु भयो ।