काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ।
सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गृहमन्त्रीमाथि प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्दा नै उपयुक्त हुने बताउनु भयो ।
उहाँले गृहमन्त्रीले पठाएको बद्नाम सहसचिव विमानस्थलमा जाने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने र सचिवालयका मान्छेहरू यस्तै मुद्दामा परेकाहरू हुने जस्ता अस्वभाविक प्रक्रियाले गृहमन्त्रीलाई विवादमा तानेको बताउनु भयो । उहाँले राजीनामा विपक्षी दलले मात्रै नभएर आम नागरिकले समेत मागिरहेको बताउनु भयो । भिजिट भिसा प्रकरणमा सेटिङ, भ्रष्टाचार र अनियमितता भएको स्पष्ट तथ्य स्थापित भएको बताउँदै गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने बताउनु भयो ।
भिजिट भिसा तथा रकम असुली प्रकरणमा मुछिएपछि विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका छन् । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गर्ने सङ्केत गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया