काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून व्यवसायीहरूबाट हुने अनुशासनहीन कामलाई सरकारले रोक्ने बताउनुभएको छ।
नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफलका लागि सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कानून व्यवसायीले आफ्नो पक्ष बाहेकको अर्को पक्षसँग कुनै साँठगाँठ गर्ने वा गोप्य कुरा तथा सूचना अरूलाई प्रवाह गरेमा कारबाही गरिने व्यवस्था विधेयकमा गरिएको बताउनु भयो ।
उहाँले कानून व्यवसायीले अनुशासनहीन काम गरेको पाइए लाइसेन्स निलम्वनसहितका कारबाही गर्ने व्यवस्था विधेयकमा रहेको बताउनु भयो । मन्त्री चौरसियाले कानून व्यवसायीहरूमाथि पनि हुने अमर्यादित व्यवहारलाई रोक्नेगरी विधेयक बनाइएको जिकिर गर्नुभयो । यस्तै उहाँले अधिवक्ताहरूले लिने शुल्कलाई वित्तीय संस्थामार्फत पारदर्शीरूपमा लिने व्यवस्था विधेयकमा गरिएको जानकारी दिनुभयो । उहाँले विधेयकमा वरिष्ठ अधिवक्ता हुन पुरानै व्यवस्थालाई निरन्तरता दिइएको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया