संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचितः काँग्रेस

357 Shares

काठमाडाैं । नेपाली काँग्रेसले संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएको छ । 

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो बताउनुभएको हो । उहाँले संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोजिएको बताउँदै सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताउनु भयो । मुलुकको संविधान कसैले उपहार नदिएको र यो नेपाली जनताले निर्माण गरेको बताउँदै उहाँले जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधानको रक्षा गर्नु आफूहरूको जिम्मेवारी रहेको बताउनु भयो । प्रवक्ता डा. महतले अनुभवका आधारमा संविधानमा भएका त्रुटीहरूलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्रुटीहरूलाई समाधान गर्नेगरी संविधान संशोधनका विषयहरू अगाडी बढाउनुपर्ने कुरा सरकारले गरेको स्पष्ट पार्नुभयो ।  

काँग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता आगामी असारसम्म सम्पन्न गर्न पार्टीलाई सक्रिय बनाउने विषयमा छलफल गरिएको छ । प्रवक्ता महतले पार्टीको केन्द्रिय कमिटीको बैठक छिटै बस्ने जानकारी दिनुभयो । उक्त बैठकमा गणतन्त्र, समावेशीता लगायतका संविधानले दिएका उपलब्धिहरुको रक्षा, पार्टीलाई सक्रियता बनाउने र आगामी दिनका आर्थिक रुपान्तरण लगायतका चुनौतीहरुको सामना गर्ने लगायतका विषयमा छलफल गरिने उहाँले बताउनु भयो । 

आफूहरू लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर भएको बताउँदै राजावादीहरूका गतिविधिहरूलाई सरकारले नरोकेको बताउनु भयो ।