काठमाडाैँ । नेपाली फुटबलको स्वर्णिम युगको कथासँगै घटनाक्रम र अवस्था समेटिएको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण भएको छ ।
साढे दुई दश नेपाली खेलकुद कलम चलाउँदै आएका पत्रकार हिमेशरत्न बज्राचार्यले लेख्नुभएको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ आइतबार एक विशेष कार्यक्रममार्फत लोकार्पण गरिएको हो । नेपाली फुटबलका लिजेन्ड एवं स्वर्णयुगको महत्वपूर्ण सदस्य राजुकाजी शाक्यले उक्त पुस्कत विमोचन गरे । नेपालले सन् १९८४ र १९९३ मा दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य थिए । यो नेपाली फुटबलबारे लेखिएको पहिलो पुस्तक हो ।
जहाँ नेपाली फुटबलको सफलताका कथा पनि समेटिएको छ । लोकार्पण कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) अध्यक्ष निरञ्जन अधिकारी, पूर्वअध्यक्ष अजय फुयाल, १३ औं सागमा स्वर्ण विजेता एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, पत्रकार युवराज घिमिरे, पुस्तक प्रकाशक बुकहिलका प्रतिनिधि र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिलगायत उपस्थिति थिए ।
एन्फाका महासचिव किरण राईले यो पुस्तक पढेपछि पहिले र अहिलेको फुटबलको अन्तर बुझेको बताए । पुस्तक पढेपछि नेपाली फुटबलको धेरै कुरा आफूलाई थाहा नभएको महशुश भयो । त्यसैले पनि नयाँ, पुराना खेलाडी मात्र होइन सबैले फुटबलको इतिहास बुझ्न स्वर्णकथा नेपाली फुटबलको पढ्नै पर्ने राईको भनाइ ।
नेपाली फुटबलको सुरुआती समयसहित नेपालले सागमा दुई पटक स्वर्ण पदक जित्दाको इतिहासका विषय समावेश गरिएको छ । नेपाली फुटबलको इतिहासमा नेपालले जितेको त्यो दुई महत्वपूर्ण उपाधि हुन् । नेपाली फुटबलको इतिहास करिब एक सय वर्ष लामो लामो भएपनि अहिलेसम्म फुटबलको इतिहासबारे कुनै पुस्तक लेखिएको थिएन । फुटबललाई आफ्नो पहिलो प्रेम मान्ने लेखक बज्राचार्यले यो पुस्तक प्रकासित गर्नु आफ्नो सपना भएको र सपना पूरा भएको उल्लेख गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया