कहिले-कहिले अराजनीतिक कदम पनि चाल्नुपर्छः प्रधानमन्त्री

330 Shares

काठमाडाैँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बचाउन नेकपा कालमा केही अराजनीतिक कदम चाल्नुपरेको बताउनुभएको छ। 

शनिबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाविधेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले पार्टी फुटाउन तत्कालीन समयमा देशी विदेशी शक्तिहरु लागिपरेको भन्दै आफूले एमालेलाई सकिनबाट जोगाएको जिकिर गर्नुभयो । तत्कालीन समयमा कुन कदम अराजनीतिक थियो भन्ने कुरा भने स्पष्ट पार्नुभएन । उहाँले नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टी फुटाएर गएर एकीकृत बनाउने भन्दै टिप्पणी गर्नुभयो । 

एकता अभियानका संयोजक वामदेव गौतमप्रति कटाक्ष गर्दै पार्टी एकजुट राख्नेतिर नउभिने, पार्टी फुटाउन हुँदैन भन्नेतिर नउभिने अनि एकता अभियान चलाउने भनेर फुस्रो नारा दिँदै विभाजनमा मद्दत गरेको आरोप लगाउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपा कालमा अध्यक्ष भएर पार्टी फुटाउने काम गर्नुभएको आरोप लगाउनु भयो । उहाँले तत्कालीन सभामुख अग्नि सापकोटाले पनि सभामुख भएर असंवैधानिक कदम चाल्नुभएको आरोप लगाउनु भयो । प्रधानमन्त्री ओलीले नेपालीहरु विभाजित हुन नहुने बताउनु भयो ।