गृहमन्त्रीको राजीनामा, सरकारको जवाफ र छानबिन समिति चाहियोः रास्वपा

352 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानविन समिति नबनेसम्म आन्दोलन जारी राख्ने बताएको छ। 

शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताउनुभएको हो । उहाँले जिम्मेवारी राजनीतिक पार्टीको हिसाबमा बिहीबार संवैधानिक दायित्व महशुस गरेर संसदमा बजेट प्रश्तुत गर्न दिएको जिकिर गर्नुभयो । 

उहाँहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मुद्दाहरूमा आफूहरू अडिग रहेको बताउनु भयो । उहाँले आफूहरूको मुद्दालाई सम्बोधन गरेपछि मात्रै सदन अगाडी बढ्ने जिकिर गर्नुभयो । प्रमुख सचेतक परियारले उक्त प्रकरणसँग जोडिएका केही नयाँ सूचना तथा सन्देशहरू प्राप्त भएको बताउँदै ती विषयलाई सदनमा जानकारी गराउनेसमेत बताउनु भयो ।  

भिजिट भिसामा विदेश जानेहरूसँग लाखौँ असुली गरेको प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै उहाँको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् ।