निजामती विधेयक जेठ २० गते संसदमा लैजाने सरकारकाे तयारी

344 Shares

काठमाडौँ । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई जेठ २० गते संसदमा लैजाने तयारी गरेको छ । 

कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले यस्तो जानकारी दिनुभएको हो । शुक्रबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद बैठकको क्यालेण्डरको विषयमा छलफल भएको सांसद खतिवडाले बताउनु भयो । उहाँका अनुसार जेठ २० गतेदेखि आगामी असार १३ गतेसम्म निरन्तर संसद बैठक बस्ने निर्णय गरिएको छ । यसअघि हप्ताको तीन दिन संसदीय समिति र तीन दिन संसद बैठक बस्ने गरेकोमा बजेट अधिवेशन भएको कारण शनिबारबाहेक प्रत्येक दिन संसद बैठक बस्ने निर्णय गरिएको सांसद खतिवडाले बताउनु भयो । 

बैठकमा संसदको अवरोध खुलाउने विषयमा समेत छलफल भएको सांसद खतिवडाले बताउनु भयो । उहाँले कर्मचारीमाथि अभियोग लागेकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुहुन्न भन्ने कुरामा आफूहरु स्पष्ट रहेकोसमेत सांसद खतिवडाले बताउनु भयो । उहाँले गृहमन्त्रीमाथि नै अख्तियारले छानविन गर्ने अवस्था आएको खण्डमा निर्णय गर्न सकिने भएपनि मातहतको कुनै कर्मचारीमाथि अनुसन्धान हुँदैमा मन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्ण रहेको समेत उहाँको जिकिर छ । 

संसद बैठक जेठ २० गते बस्ने उल्लेख गर्दै सांसद खतिवडाले त्यो बेलासम्म सहमति गरेर संसद खुलाउने प्रयासमा आफूहरु रहेको समेत बताउनु भयो ।