काठमाडौँ । वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ ।
अर्बुद रोगबाट पीडित उहाँको आज बिहान अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो । आजै उहाँको गोकर्णेश्वर घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
पत्रकारिता र साहित्यमा विजय चालिसेको नामबाट परिचित उहाँको पूरा नाम विजयकुमार चालिसे हो । गोरखापत्र दैनिक १२५ वर्ष प्रवेशका अवसरमा गएको वैशाख २४ गते आयोजित विशेष समारोहमा उहाँलाई ५० हजार राशिको रामचन्द्र–इन्द्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।
वरिष्ठ साहित्यकार रमेश विकलका सुपुत्र विजय चालिसे बाल साहित्यमा सक्रिय एक समर्पित स्रष्टा हुनुहुन्थ्यो । वि.सं. २००८ असार २२ गते शुक्रबार जोरपार्टी आरुबारी काठमाडौँमा जन्मिएका चालिसेले लामो समयदेखि कथाहरू, उपन्यासहरू र नाटकहरूमार्फत बालबालिकालाई केन्द्रमा राखी विविध साहित्यिक विधामा निरन्तर लेखन गर्दै आउनु भएको थियो ।
गोरखापत्र संस्थानको अध्यक्ष र गोरखापत्र दैनिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हाल्नुभएका उहाँ प्रेस चौतारी नेपालका संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्याे । चालिसेका कथा, उपन्यास, नियात्रा, पत्रकारिता, बालसाहित्यका ५० वटा पुस्तक प्रकाशित छन् । स्वर्गीय चालिसका दुई छोरा र एक छोरी हुनुहुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया