न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स र परराष्ट्रमन्त्री राणाबीच भेटः कृषि, व्यापार र पर्यटनबारे छलफल

338 Shares

काठमाडौं । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सबीच भेटवार्ता भएको छ। 

बुधबार साँझ काठमाडौंमा पराष्ट्रमन्त्री राणासहितको नेपाली प्रतिनिधि मण्डल र न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टोन पिटर्ससहतिको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको हो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. राणाले छलफलमा कृषि, व्यापार, लगानी, पर्यटन, शिक्षा र बहुपक्षीय संलग्नता लगायत धेरै क्षेत्रहरूमा छलफल भएको बताउनु भयो । दुई देशबीच घनिष्ठ, सौहाद्र्रपूर्ण र लामो समयदेखिको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनेबारेमा छलफल केन्द्रित रहेको बताउनु भयो । 

द्विपक्षीय व्यापार मात्रा बढाउने बाटोहरू खोज्न सहमत भएको बताउँदै थप आर्थिक संलग्नताको आवश्यकता महशुस गरेको उल्लेख गर्नुभयो । छलफलका क्रममा पर्यटन दुवै देशको अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भ भएकोले पर्यटन क्षेत्रमा सहयोगको महत्वलाई जोड दिइएको बताउनु भयो । दुवैले दुई देश र जनतालाई नजिक ल्याउन न्युजिल्याण्डमा रहेका नेपाली डायस्पोराले खेलेको भुमिकाको कदर गर्दै देशहरूबीचको सुदृढ र दिगो द्विपक्षीय सम्बन्धको लागि जनता–जनता सम्बन्धको महत्वलाई जोड दिइएको बताउनु भयो । 

पत्रकार सम्मेलनका क्रममा बोल्दै न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले छलफल दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउनेमा केन्द्रित रहेको बताउनु भयो । उहाँले नेपाल र न्युनिल्याण्ड बीचको सम्बन्ध सौहार्द्र र मित्रताले भरिएको उल्लेख गर्दै १९६१ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र न्युजिल्याण्डले सद्भावना, पारस्परिक विश्वास र सहयोगमा आधारित उत्कृष्ट द्विपक्षीय सम्बन्धको आनन्द लिइरहेको बताउनु भयो । 

नेपाल र न्युनिल्याण्ड बीचको द्विपक्षीय सम्बन्धको समग्र पक्षमा स्वतन्त्र, स्पष्ट र गहन छलफल भएको दुई देशको दाबी छ । सगरमाथा आरोहणमार्फत नेपाल–न्युनिल्याण्ड सम्बन्ध विस्तार भएको थियो । एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको योगदानलाई पनि भेटका क्रममा स्मरण गरिएको छ । द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन सँगै काम गर्न तत्पर रहेको दुवै देशको भनाइ छ ।