काठमाडाैँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।
सभाको बुधबारको बैठकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामीले गृहमन्त्री लेखक अध्यागमन विभागको भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिन माग गर्नुभयो । उहाँले अध्यागमन कार्यालयका प्रमुखले नै गृह मन्त्रालयलाई ५० लाख रुपैयाँ बुझाउनुपर्ने बयान दिएको उल्लेख गर्दै उहाँले गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्न माग गर्नुभयो । उहाँले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीका घटनामा छानबिन गर्नसमेत उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
अख्तियारले भिजिट भिसामा सेटिङको आरोपमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लिएर उनीहरूका डिभाइसहरू अनुसन्धानका लागि पठाएको छ। यता विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध कायमै राखेका छन् । गृहमन्त्रीले राजीनामा नदिएको खण्डमा राष्ट्रिय सभाको बैठक समेत चल्न नदिने अछामीको चेतावनी छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया