काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कम्तिमा एक हप्ता काठमाडौंमै बसेर आन्दोलन गर्ने गरी तयारीमा रहन आह्वान गर्नुभएको छ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । जेठ १५ गतेदेखि राजावादीहरुले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र कायम नभएसम्म आन्दोलन जारी राख्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सरकारले दमनबाटै ठिक लगाउने भन्ने हिसाबले र कार्यक्रम अवरोध गर्नेतर्फ सरकार अघि बढ्यो भने प्रतिकार जरुरी हुने बताउनु भयो ।
सरकारबाट आन्दोलनमा अवरोध गरेको खण्डमा हातमा दही जमाएर नबस्ने चेतावनी दिनुभयो । जेठ १५ को आन्दोलन मुल आन्दोलन भएकाले कम्तिमा एक हप्ता काठमाडौं बस्नुपर्छ भन्ने सोचका साथ तयारी गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष लिङ्देनले जेठ १५ गतेको प्रदर्शन पूर्णरुपमा शान्तिपूर्ण हुने बताउँदै प्रदर्शनमा हुनसक्ने घुसपैठप्रति सचेत रहनुपर्ने बताउनु भयो । आन्दोलन हिंसात्मक बनाउन सरकार, सरकारबाट सञ्चालित संयन्त्रहरु क्रियाशील हुनसक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति हार्ने बेलामा आत्तिएर आएको बोली जस्तो आइरहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया