धुलिखेल अस्पतालमा एक सय शैयाकाे ट्रमा सेन्टर निर्माण हुने, बुधबार प्रधानमन्त्रीले शिलान्यास गर्ने (भिडियाे)

937 Shares
  • ज्ञानमणि नेपाल कालाेटाेपी

धुलिखेल । काभ्रे जिल्लामा मात्रै नभएर देशकै उत्कृष्ट अस्पतालकाे रुपमा परिचित धुलिखेल अस्पतालमा ट्रमा सेन्टर निर्माण हुने भएकाे छ । 

नेपाल सरकार र जापान सरकारकाे साझेदारीमा निर्माण हुने एक सय शैयाकाे ट्रमा सेन्टरकाे बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुहुने भएकाे छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै यसकाे जानकारी दिएकाे हाे । 

d94520fd-d1f2-4695-a585-1de9e6345d18.jpg

धुलिखेल अस्पतालले अरनिको राजमार्ग र विपी राजमार्गले ओगट्ने ठूलाे भूभागका नागरिकलाई गम्भीर चोटपटक र आकस्मिक स्वास्थ्य समस्याको लागि उपयुक्त उपचार प्रदान गर्ने उद्देश्यले धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको अवधारणा सन् २०१४ मा सम्बन्धित निकायहरुमार्फत् र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी नेपाललाई प्रस्तुत गरेको थियो । सोही प्रस्तावना अनुसार विभिन्न चरणको स्थलगत निरिक्षण, बैठक, संवाद र समन्वयपछि सन् २०२३ अक्टोबर र २०२५ मे मा नेपाल सरकार र जापान सरकारको रोहबरमा जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी नेपाल र अर्थ मन्त्रालयबीच ३.८७९ विलियन जापानिज ऐन लगानी बराबरको १०० शैयाको धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको निर्माणको सम्झौतामा हस्ताक्षर भएकाे थियाे । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस परियोजनाको कार्यकारी निकाय र धुलिखेल अस्पताल कार्यान्वयन निकायको रुपमा रहने आयाेजित पत्रकार सम्मेलनमा धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रामकण्ठ माकाजुले जानकारी दिनुभयाे ।

3f4bd07d-d81f-4e15-b3ac-e91a1def6713.jpg

यसै क्रममा जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी नेपाल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधीको उपस्थितिमा, अप्रिल २०२५ मा टाेडा कर्पाेरेशन टाेकियाे  जापान निर्माण कार्यको लागि छनौट भई प्रारम्भिक कार्य शुभारम्भ गरिसकिएको छ । अस्पताललाई चाहिने अत्याधुनिक उपकरणहरु जस्तै सिटीस्क्यान, एम.आर. आई मेसिन, शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्सरे मेशिन लगायत अस्पतालका बेडहरुसहित जुन २०२७ मा हस्तान्तरण गरिने योजना रहेको छ ।

2bde412d-144c-444a-bf85-cda381a900a7.jpg

धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको सञ्चालनपछि काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर जिल्लाकासाथै विपी राजमार्गले जोड्ने तराईका जिल्लाहरुका गम्भीर घाइते र आकस्मिक स्वास्थ्य उपचार तत्काल आवश्यक भएका विरामीहरुले समयमै सेवा र सुविधा पाउनेछन् भन्ने आशा र विश्वास धुलिखेल अस्पतालले लिएको छ । 

धुलिखेल अस्पताल (1).jpg

विकाशशील र विकान्सोमुख देशहरुमा सवारी दुर्घटना र यस कारणले हुन जाने जनधनको क्षति दिनानुदिन बढ्दो क्रममा रहेको तथ्यहरुले देखाउँदै आएको छ । पछिल्लो अध्ययन अनुसार २० वर्षदेखि ४० वर्ष समूहका व्यक्तिहरुको मृत्युको पहिलो कारण सवारी दुर्घटना रहेको पाइन्छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार पनि नेपालमा प्रत्येक ४ घण्टामा एक जनाको मृत्यु सवारी दुर्घटनाको कारण भइरहेको देखिन्छ । अझ विशेषगरी नेपालमा रुख, भिर, पाखाबाट लडेर हुने घाइतेहरुको संख्या पनि धेरै ठूलो छ । चोटपटकपछि घाइतेले शारीरिक र मानसिक क्षति बेहाेर्नुका साथै समग्रमा राष्ट्रलाई नै अपूरणीय क्षति पुगिरहेको सन्दर्भमा धुलिखेलमा ट्रमा तथा इमरजेन्सी सेन्टरकाे निर्माण हुन लागेकाे अस्पतालका डा. दिपक श्रेष्ठले जानकारी दिनुभयाे । बुधबार प्रधानमन्त्रीबाट हुने शिलान्यास कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएकाे पनि उहाँले बताउनुभयाे । 

94bfb9f5-5307-4af3-87aa-3bb76914acfd.jpg

विसं २०५३ सालदेखि धुलिखेल अस्पतालले आफ्नाे सेवा शुरु गरेकाे हाे । तीन दशकसम्म आइपुग्दा अस्पतालले विभिन्न सेवाहरु थप गर्दै आइरहेकाे छ । 

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला । 

 

तस्बीरहरुः ज्ञानमणि नेपाल कालाेटाेपी / न्युज हाउस नेपाल