निर्वाचन आयोगको प्रस्ताव : दलका पदाधिकारी दुई कार्यकाल मात्र

330 Shares

काठमाडौँ। निर्वाचन आयोगले राजनीतिक दलको प्रमुख पदाधिकारी बढीमा दुई कार्यकालसम्म मात्र रहने गरी सङ्गठनात्मक संरचनाको व्यवस्था गर्नुपर्ने प्रस्तावसहित राजनीतिक दलसम्बन्धी ऐन २०७३ को मसौदा तयार गरेको छ । आयोगले तयार गरेको मसौदा गृह मन्त्रालय पठाइएको छ । 

आयुक्त रामप्रसाद भण्डारीले दलहरूबाट आएको सुझावका आधारमा प्रमुख पदाधिकारीको कार्यकाल तोक्ने व्यवस्था विधानमै राख्न सुझावसहितको मसौदा तयार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मसौदासम्बन्धमा दलहरूसँग छलफल गर्दा प्राप्त लिखित सुझावका आधारमा मसौदा तयार गरिएको हो ।”

आयोगले गत चैत ७ गते राजनीतिक दलहरूलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकको मसौदाबारे लिखित सुझाव पेस गर्न १५ दिनको समय उपलब्ध गराएको थियो । सोबमोजिम नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका करिब दस वटा दलले सुझाव पेस गरे । दलको लिखित सुझावमा भने सो विषय समेटिएको छैन । 

आयोगले गृह मन्त्रालयमा पठाएको मसौदामा मूल ऐनको दफा १५ मा संशोधन भनेर उपदफा ‘क’ र ‘ख’ थपिएका छन् । “उपदफा १ बमोजिम पदाधिकारीहरू विधानमा उल्लेख गर्दा प्रमुख पदाधिकारीको हकमा बढीमा दुई कार्यकालसम्म मात्र रहने गरी सङ्गठनात्मक संरचनाको व्यवस्था गर्नुपर्ने छ,” मसौदामा उल्लेख छ । विद्यमान ऐनमा भने दलको सङ्गठनात्मक संरचना तथा पदाधिकारीसम्बन्धी व्यवस्था विधानमा उल्लेख भएबमोजिम हुने व्यवस्था छ । गाेरखापत्रबाट