समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक कम्युनिस्ट एकताको प्रक्रियामा अघि बढेका छौँः अध्यक्ष दाहाल

327 Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अगाडि बढिरहेको बताउनुभएको छ।

सोमबार ललितपुरमा भएको नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न उतारचढावका बीच आजको दिनसम्म आइपुगेको बताउँदै नेसपासँगको पार्टी एकता, समायोजन र एकीकरण जे भने पनि सार एउटै भएको बताउनु भयो । 

गम्भीर ढङ्गले समाजवादी क्रान्तिको तयारीमा आफूहरू लागिरहेको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले २०६४ को निर्वाचनमा प्राप्त गरेको अभिमत जोगाउन नसक्दा पार्टी विभाजित भएको र त्यसले सर्वहारा वर्ग तथा श्रमजीवी जनतामाथि ठूलो क्षति भएको बताउनु भयो । उहाँले उक्त विभाजनले शहीद र बेपत्ता योद्धाहरूको सपना नराम्रोसँग तरङ्गित भएको धारणा राख्नुभयो । 

उहाँले संविधान घोषणा भइसकेपछि फेरि एकताको प्रक्रिया शुरु भएको र आफूहरू सबै त्यो प्रक्रियामा अगाडी बढिरहेका दाबी गर्नुभयो । समाजवादी आन्दोलन अगाडी बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर अगाडी बढ्दै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेसपासँगको समायोजन कम्युनिस्ट एकताको ठूलो शुरुवात भएको बताउनु भयो ।