काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)बाट यसअघि नै बाहिरिएका दुई टोलीबीच आइतबार भएको खेल निकै रोचक बन्याे ।
साे खेलमा सनराइजर्स हैदरावादले कलकता नाइट राइडर्सलाई ११० रनको फराकिलो अन्तरले हराएको छ। सनराइजर्सले दिएको २७९ रनको विशाल लक्ष्य पछ्याएको कलकता ८ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १६८ रनमा सीमित भएको हो।
हैदरावादलाई शानदार जित दिलाउने क्रममा हेन्रिक क्लासेनले अविजित रहँदै ३९ बलमा १०५ रनको शतकीय पारी खेले। उनले ३७ बलमा शतक पूरा गरेका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले तीन विकेटको क्षतिमा २७८ रन जोडेको थियाे । क्लासेनका अलावा ट्रेभिस हेडले ४० बलमा ७६ तथा अभिषेक शर्माले १६ बलमा ३२ रन जोडे। अङ्कित वर्माले अविजित रहँदै ६ बलमा १२ रन प्रहार गरे।
यो स्कोर आईपीएल इतिहासमा तेस्रो ठूलो स्कोर हो। गत सिजन हैदरावादले नै बंगलोरुविरुद्ध पाँच विकेटको क्षतिमा २८७ रन बनाएको थियो। यसै सिजनको सुरुवातमा हैदरावादले नै राजस्थान रोयल्ससँगको खेलमा ६ विकेटको क्षतिमा २८६ रन बनाएको थियो।
जितसँगै हैदरावादले १३ अङ्कसहित प्रतियोगिताको अन्त्य गरेको छ। हैदरावाद छैटौँ स्थानमा रहेको छ भने कलकता १२ अङ्कसहित आठौँ स्थानमा छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया