गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाउने एमालेको निर्णय

413 Shares

काठमाडाैँ । नेकपा (एमाले)ले आगामी जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाएको निर्णय गरेको छ।

आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले आम जनसमुदायलाई जेठ १५ गते गणतन्त्रलाई उत्सवको रूपमा आयोजना गर्न आह्वान गर्ने निर्णय गरेको पार्टीका महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । उहाँले गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गरिने उहाँले बताउनुभयो । महासचिव पोखरेलका अनुसार काठमाडौं उपत्यकामा उत्सवको आयोजना गर्न नेपाल जन सांस्कृतिक महासङ्घलाई संयोजनको जिम्मा दिइएको र पार्टी कार्यालयको तर्फबाट आवश्यक संयोजन गर्ने निर्णय भएको छ । 

महासचिव पोखरेलले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्ने ऐतिहासिक उपलब्धिको रूपमा रहेको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल र सुदृढ बनाउने कुरामा एमालेले जोड दिएको जिकिर गर्नुभयो । उहाँले जनताको सम्प्रभुताको विरुद्धमा हुने कुनैपनि गतिविधिहरू एमालेलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो । महासचिव पोख्रेलले गणतन्त्र जनताको सार्वभौम शासन व्यवस्था रहेको बताउँदै त्यसलाई सबल र सुदृढ बनाउने कुरामा एमाले प्रतिवद्ध रहेको दोहो¥याउनु भयो ।  
 
उहाँले जनताको अधिकारको रक्षा, उपलब्धिहरूको संरक्षण र गणतन्त्र स्थापनालाई जनताको उत्सवको रूपमा मनाउने विषयमा आफूहरूको ध्यान केन्द्रित रहेको बताउनु भयो ।