शिक्षकहरुको बढुवा हुनु र चन्द्रमामा जग्गा किन्नु एकै होः पूर्वमन्त्री पौडेल

321 Shares

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकहरुसँग सरकारले गरेको सहमति विद्यालय शिक्षा विधेयकमा समावेश गर्नुपर्ने बताउनुभएको छ । 

आइतबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पूर्वमन्त्री पौडेलले शिक्षकहरुका विषयमा झुक्याउन नहुने बताउनुभएको हो । उहाँले शिक्षकहरुसँग सहमति गर्ने विधेयकमा अर्को विषय आएकाले सम्झौताअनुसार मन्त्रालयको प्रतिबद्धता नआएसम्म कुनै छलफल अघि नबढ्ने स्पष्ट पार्नुभयो ।

शिक्षकहरुको बढुवाको विषय चन्द्रमामा घडेरी किनेर घर बनाउनेजस्तै भएको भन्दै पूर्वमन्त्री पौडेलले शिक्षकहरुको बढुवा हुनै नसक्ने खालको बनाउन खोजिएकोले सच्याउनुपर्नेमा जोड दिनुभयो । निजी विद्यालयको हकमा निश्चित समय राखेर संविधानअनुसार शैक्षिक गुठीमा लागिनुपर्ने भन्दै संविधानले नै निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरेकाले सोही अनुरुप निजीलाई निश्चित समय दिएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सबै कुरा शिक्षकहरुले भने अनुसार नै हुनुपर्छ भन्ने नभएपनि कतिपय विषयमा समस्या हल गर्नेगरि सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।