रास्वपा सभापति लामिछानेलाई रिहा गर्न सर्वोच्चको अस्वीकार

426 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनलाई गैरकानूनी थुनामा राखेको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लाामिछानेलाई रिहा गर्न अस्वीकार गरेको हो । 

बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । तर, चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । 

सोही रात प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै अनुसन्धानका लागि भनेर उनलाई पक्राउ गरेको थियो । त्यस रात जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अर्को बिहान रुपन्देही लगिएको थियो । दुई दिन रुपन्देहीस्थित हिरासतमा राखेर चैत २५ गते जिल्ला अदालतमा उपस्थित गराइ लामिछानेलाई जिल्ला कारागार रुपन्देही चलान गरिएको थियो । यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।