सुनचाँदीका गहना, नेपाली र भारतीय रुपैयाँसहित बनेपाबाट पाँच जनाको समूह पक्राउ

635 Shares

बनेपा । काभ्रेको बनेपामा अवैध गहना निर्माण र बिक्रीमा संलग्न पाँच जनाको समूह पक्राउ परेको छ। बनेपाको मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टरमा प्रहरीले छापा मारेर सुन-चाँदीजस्तो धातु, नगद र अन्य सामग्री बरामद गरेको छ। 

बुधबार बिहान ७ बजे बनेपा न.पा.  वडानम्बर-७ परिवार नियोजन चोकमा आदिरत्न शाक्यको घर भाडामा लिई संचालनमा रहेकाे मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टरमा प्रहरीले छापा मारेकाे थियाे । गोप्य सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेसमेतको टोली खटिएर छापा मारेकाे थियाे । साे क्रममा उक्त ज्वेलर्सका संचालक भारतकाे पश्चिम बंगाल राज्यस्थित मदनपुर जिल्लाका बर्ष ४७ को दिपंकर मैतीको  कोठाबाट सुनजस्तो देखिने पहेंलो धातुका गरगहना ६७८.८३ ग्राम, भारतीय रुपैयाँ २५ हजार ३१० र नेपाली रुपैयाँ १ लाख २१ हजार ५ बरामद भएकाे हाे । 

4d731820-fa65-4b55-81eb-d06fbe87bac4.jpg

उक्त कार्यमा संलग्न भारत वेस्ट बंगाल मेदिनीपुर घर भई पाँचखाल नगरपालिका-४ बस्ने बर्ष ३० को सुमन सासमोलको साथबाट २३.०८० ग्राम सुनको धातु जस्तो देखिने टुक्राहरु, जोतभन्साम घर भइ बनेपा न.पा. ७ बस्ने बर्ष ३८ को ऋषिकेश गोड्सेको कोठाबाट चाँदी जस्तो धातु ३२७.७५० ग्राम पनि बरामद गरेकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका सबैलाई राजस्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ।

यस्तै मंगलबार बरामद भएको श्रोत नखुलेको नेपाली रुपैयाँ २५  लाख र उक्त कार्यमा संलग्न सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गा.पा.-१ बस्ने बर्ष २१ को राजन धमला र जिल्ला सप्तरी छिन्नमस्ता गा.पा. ६ बस्ने बर्ष ३८ को संजयकुमार साहलाई समेत थप अनुसन्धाका लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन पठाइएको छ ।