काठमाडाैं । राष्ट्रिय सभाका सांसदहरुले जेठ ११ र १२ गते सात वटै प्रदेशका स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुसँग समन्वय बैठक गर्ने भएका छन् ।
राष्ट्रिय सभा नियमावली अनुसार वर्षमा एक पटक सम्बन्धित प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग विकास निर्माण, स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापनलगायतका विषयमा समन्वय बैठक गर्ने प्रावधानअनुसार राष्ट्रिय सभाका सदस्यहरुले समन्वय बैठक गर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जेठ ११ र १२ गते राष्ट्रिय सभाका सदस्यहरुले समन्वय बैठक गर्नेगरि निर्धारण गर्नुभएको हो ।
अध्यक्ष दाहालले यो ऐतिहासिक कार्यक्रम भएकाले सम्पूर्ण सदस्यहरु आआफ्नो प्रदेशमा उपस्थित भई सक्रिय सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले छलफल विधायकी अन्तरसम्बन्ध, संघीयता कार्यान्वयन, वित्तीय संघीयताका विविध पक्ष र सार्वजनिक सेवा र विकास व्यवस्थापनका विषयमा हुने जानकारी दिनुभयो ।
उहाँले छलफलमा उजागर भएका विषय र समस्या समाधानका सुझावसमेत समावेश गरी एकप्रति सभामा पेश गरिने र कार्यान्वयनका लागि नेपाल सरकारका सम्बन्धित निकायमा पठाइने जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया